`एमालेमा प्रवेश गर्ने कुरा त टाढैको हो । यो सोच्न पनि सकिँदैन ।’- प्रकाण्ड

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफू एमाले प्रवेश गर्ने हल्ला साम्राज्यवादी र दलाल पुँजीवादी एजेन्टहरूको कुप्रचार भएको भन्दै त्यसप्रकारका समाचारबाट भ्रमित नहुन आग्रह गरेका छन् । यस विषयमा केही सञ्चारमाध्यममा आएका समाचारका विषयमा प्रतिक्रिया दिँदै प्रकाण्डले भने, ‘म एमालेमा प्रवेश गर्ने कुरा त टाढैको हो । यो सोच्न पनि सकिँदैन ।’

उनले नेपाल कम्युनिस्ट पार्टीले लिएको वैज्ञानिक समाजवादी कार्यक्रमले राष्ट्रिय राजनीतिको नेतृत्व गर्न लागेकाले नेकपाको सफलताबाट आत्तिएका साम्राज्यवादी तथा दलाल पुँजीवादीका एजेन्टहरूको कुप्रचार मात्र भएको टिप्पणी गरे । प्रवक्ता प्रकाण्डले यस्तो कुप्रचार गर्ने दलालहरूलाई जनताले कारबाही गर्ने चेतावनी पनि दिए ।

नेपाली जनता, कार्यकर्ता र पार्टीपङ्क्तिमा साम्राज्यवादी तथा दलाल पुँजीवादी एजेन्डहरूको कुप्रचारको भ्रममा नपर्न उनले आग्रह गरेका छन् । प्रकाण्डले भने, ‘पार्टीको क्रान्तिकारी विचार, नेतृत्व, एकीकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवादको कार्यक्रम नेपाली जनतामा लोकप्रिय हुँदै गएको छ । यो लोकप्रियताले आत्तिएका, डराएका, साम्राज्यवादी र दलाल पुँजीवादी तत्वका एजेन्टहरूको कुप्रचार मात्र हो । यसमा भ्रमित नहुन म सबैलाई आग्रह गर्दछु ।’

केही अनलाइनहरूले ‘प्रकाण्ड एमाले प्रवेश गर्दै’ भन्ने भ्रमपूर्ण समाचार प्रकाशित गरेका थिए । उनले भ्रमपूर्ण समाचार प्रकाशित गर्ने मिडिया र पत्रकारलाई यस्तोखालको पत्रकारिता नगर्न चेतवानी दिँदै सचेत गराउँदागराउँदै पनि नसुध्रिएमा जनताले कारबाही गर्ने चेतावनी पनि दिए ।

प्रतिक्रिया दिनुहोस