लघुवित्तीय संस्थाको ऋण नतिर्न बिद्रोही नेकपाको अपिल !

काठमाडौँ  :   नेपाल कम्युनिस्ट पार्टीले राजस्वमारामा एनसेलको सिमकार्ड र रिचार्ज कार्ड किनबेच नगर्न–नगराउन, वित्तीय संस्थाको कुनै पनि ऋण नतिर्न र अबदेखि भ्रष्ट, नाफाखोर संस्थासँग कारोबार नगर्न आह्वान गरेको छ । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले प्रेस विज्ञप्ति जारी गरी यस्तो आह्वान गरेको हो ।

पार्टीका जिल्ला सेक्रेटरी रवि र इन्चार्ज सहदेवद्वारा मङ्गलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी स्थापनाकालदेखि राष्ट्र, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा अनवरत रूपमा निरन्तर सङ्घर्षरत रहेको सबैमा सर्वविदितै छ । जनताका जायज मागलाई लिएर निरन्तर सङ्घर्षरत हाम्रो पार्टीको लोकप्रियता देखेर त्रसित केपी–बादलको फासिवादी सरकारले गैरसंवैधानिक कथित प्रतिबन्ध लगाएको छ । यसका बाबजुद जनताको जनजीवन अस्तव्यस्त भइरहँदा हाम्रो पार्टीले करछली गर्ने भ्रष्ट संस्था एनसेल र जनताको समस्याको फाइदा उठाउँदै विभिन्न सेवासुविधाका नाममा चर्को ब्याज असुली गरिरहेका वित्तीय संस्थाका विरुद्ध निरन्तर सङ्घर्ष गरिरहेको कुरा आम जनसमुदायमा अवगत नै छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘आज यो विज्ञप्तिमार्फत यी करछली र ठगी गर्ने भ्रष्ट संस्था एनसेल र नाफाखोर वित्तीय संस्थाका कार्यालयहरू निजी घर, भवनहरूमा नराख्न र राखिएका कार्यालय तत्काल हटाउन आम जनसमुदायमा हार्दिक अनुरोध गर्दागर्दै हाम्रो अपिललाई बेवास्ता गरिएमा जनकारबाहीबाट हुन जाने क्षति सम्बन्धित घर, भवनहरूको जिम्मा सम्बन्धित व्यक्ति, समूह, संस्था स्वयम्ले लिने जानकारी गराउँदै यी भ्रष्ट संस्थासँग कारोबार गर्ने सम्बन्धित व्यापारी–व्यवसायीलाई एनसेलको सिमकार्ड र रिचार्ज कार्ड पनि किनबेच नगर्न–नगराउन र वित्तीय संस्थाको कुनै पनि ऋण नतिर्ने र अबदेखि यस्ता भ्रष्ट, नाफाखोर संस्थासँग कारोबार नगर्न पनि यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराउँछौँ ।’

प्रतिक्रिया दिनुहोस