आस्था राउतलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले थुनामा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएका हुन् ।
गायिका राउत सोमबार बिहान आफै महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएपछि उनीविरुद्धको कारबाही प्रक्रिया प्रहरीले अगाडि बढाएको थियो। राउत आफ्ना मामा र सानो बुवाको साथमा परिसर पुगेकी थिइन्।
प्रहरीले उनीसँग प्रारम्भिक बयान लिएपछि थप कानुनी प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय लगेको थियो।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरेको थियो। मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
प्रशासनले पक्राउ पुर्जी जारी गरेसँगै कानुनअनुसार राउत प्रहरीको फरार सूचीमा परेकी थिइन्। उनले आफू सांस्कृतिक कार्यक्रममा भारतको सिक्किममा रहेको र फर्कनेबित्तिकै प्रहरीलाई घटनाबारे जानकारी दिने बताएकी थिइन् ।