दामनको रिसोर्टमा दुई भारतीय परिवारका ८ जनाको मृत्यु (नामसहित)

मकवानपुर । भारतको केरलाबाट मकवानपुरको दामन घुम्न आइपुगेका २ परिवारका ८ सदस्यको मृत्यु भएको छ ।

उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक होटलमा बेहोस अवस्थामा फेला परेका आठ जना भारतीय पर्यटकको उपचारका क्रममा मृत्यु भएको हो । थाहा नगरपालिका ४, सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा अचेत भई मृत्यु हुनेमा चार जना बालबालिका समेत रहेका छन्।

काठमाडौंको हेम्स अस्पतालमा उपचारका क्रममा डाक्टरले मंगलबार दिउँसो १२ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख तथा प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले बताए । उनका अनुसार मृतकहरुमा भारत केरलाका करिब पाँच वर्षीय अभी, सात वर्षीया अर्चना, पाँच वर्षीय बैशनव, नौ वर्षीया बन्द्रा, ३८ वर्षीय रन्जित कप, ३४ वर्षीया ईन्द्र, ३७ वर्षीय प्रबिण र ३२ वर्षीया सरिया रहेका छन्।

‘बिहान साढे नौ बजे कोठामा हेर्दा आठ जना बेहोस अवस्थामा भेटेको भन्दै प्रहरीलाई खबर आएको थियो,’ उनले भने, ‘तत्काल सिमभञ्ज्याङ्ग चौकी र ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उद्धार गरी काठमाडौं पठाएको थियो।’

उनीहरु सोमबार राति दुई कोठामा बसेको भए पनि अचेत अवस्थामा भने एउटै कोठामा भेटिएको थियो। मंगलबार बिहान अचेत अवस्थामा भेटिएपछि कैलाश एयरको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको थियो।

भारतको केरला प्रदेशका उनीहरु पोखराबाट बा ३ क ३६८८ नम्बरबाट बसबाट दामन घुम्न सोमबार राति करिव नौ बजे होटल पुगेका थिए। चार वटा कोठामा बसेका १५ जनामध्ये मृतकहरु एउटै कोठामा बसेको प्रहरीको भनाइ छ।

होटलमा बेहोस अवस्थामा भेटेपछि होटलका कर्मचारीले ईलाका प्रहरी कार्यालय, पालुङलाई खबर गरेका थिए । चिसोबाट बच्न कोठाको झ्याल, ढोका बन्द गरी हिटर चलाएर सुतेका कारण उनीहरु निस्सासिएर बेहोस भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । उनीहरु नागपोखरीमा रहेको इजी कम्पनीबाट हेटौंडा आएको बुझिएको छ । कटेजमा बसेका उनीहरुको टोलीमा १५ जना रहेका थिए ।

पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भइरहेको र मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्ने प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस