माघ १ गते देखि आफैले छाँगोको सञ्चालन र व्यवस्थापन गर्न भनेर महानगरको टोली मंगलबार पुगेको थियो । तर, स्थानीय, राजनीतिक, दल, विद्यार्थीको साथ पाएको विद्यालयले विवाद सिर्जना गरेपछि दिनभर जसो डेभिज फल गेट अशान्त बन्न पुगेको छ।
पोखरा वडा नं. १७ स्थित (डेभिज फल्स) पाताले छाँगो ४० वर्षलाई ठेक्कामा दिने विषयले उग्र रूप लिएको छ ।
पोखरा महानगरपालिकाले ४० वर्षका लागि पाताले छाँगोमा सीसाको पुलसहित भव्य संरचना निर्माण गर्न सेती क्यानोनिङ प्रालिलाई ठेक्का दिने सम्झोता गरेको छ ।
जिम्मा पाएको ठेकेदार कम्पनीले बिहीबार बिहान सार्वजनिक सुनुवाइ राखेको थियो । हप्तादिन अगाडि पनि सार्वजनिक सुनुवाई बिथोलिएको थियो ।
बिहीबार पनि विभिन्न पार्टीका विद्यार्थी नेता, स्थानीयको विरोधले बिथोलिन पुग्यो । मेयर धनराज आचार्य कार्यक्रमस्थल छाडेर सुरक्षा घेरामा बाहिरिएका थिए ।
एकातिर ठेकेदार तथा महानगरका पक्ष र अर्कातिर स्थानीयबासी तथा विद्यार्थीहरू ठूलो संख्यामा उपस्थित भएका थिए ।
ठेकेदार पक्षका युवाहरूले खुकुरी प्रहार गर्दा नेपाल विद्यार्थी संघका नेता निर्दोष विक्रम पौडेललगायत घाइते भएका छन् । पौडेललाई उपचारका लागि अस्पताल लगिएको थियो ।

प्रहरीका अनुसार खुकुरी प्रहार गर्ने बंशसिंह खवास पक्राउ परेका छन् । प्रहरीले खवासलाई खुकुरीसहित पक्राउ गरेको हो ।
कार्यक्रम सुरू भएलगत्तै विभिन्न विद्यार्थी संगठनका नेता र स्थानीयले विपक्षमा नाराबाजी गरेका थिए भने कुनै पनि हालतमा योजना अगाडि बढाउन नदिने चेतावनी दिएका थिए ।
ठेक्का पाएका सेती क्यानोनिङका सञ्चालक कर्केन गुरूङले आफूले लगानी गर्न लागेको, अदालतले पनि आफ्नो पक्षमा फैसला गरेको र स्थानीयको माग पनि सम्बोधन गर्ने बताउँदै कार्यक्रम समापन गरे पनि विवाद कायमै थियो । कार्यक्रम सकिइसकेपछि विरोध गर्ने विद्यार्थीमाथि खुकुरी प्रहार भएको हो ।
पाताले छाँगो घुम्न गएका पर्यटकबाट बर्सेनि करोडौं रकम संकलन हुन्छ । प्रवेश टिकट लिएर पर्यटकबाट शुल्क संकलनचाहिँ छाँगो नजिकै रहेको छोरेपाटन माविले गर्दै आएको छ । सँगै विद्यालयले यहाँको रेखदेख तथा संरक्षण लगायत काम गर्दै आएको छ । त्यही रकमबाट विद्यालयले भौतिक पूर्वाधार बनाउनेदेखि शिक्षकलाई तलब भर्ने काम पनि गरिरहेको छ । तर पोखरा महानगरले छाँगो निजी कम्पनीलाई दिने सम्झौता गरिसकेपछि विद्यालय र महानगरबिच द्वन्द्व बढेको छ ।
छोरेपाटन मावि आफ्नो आम्दानीको स्रोत बन्द हुने चिन्तामा परेको छ । पोखरा महानगर अघिल्लो कार्यकालको जनप्रतिनिधिले गरेको सम्झौतालाई कार्यान्वयन गराउने तयारीमा छ । विद्यालय व्यवस्थापन समिति त्यसको प्रतिकार गरिरहेको छ ।