पोखरा महानगरपालिका–३०, शिशुवामा अवस्थित न्यू लाईट अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले समय–समयमा आयोजना गर्दै आइरहेका अतिरिक्त क्रियाकलाप अन्तर्गत यही भाद्र ९ गते, सोमबार तिजगीत प्रतियोगिता सम्पन्न गरेको छ। हरितालिका तीजको पावन अवसरमा आयोजित उक्त कार्यक्रममा विद्यालयका कक्षा २ देखि ९ सम्मका विद्यार्थीहरूको सहभागीता रहेको थियो।
विद्यालयका निर्देशक नविन कुमार देवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य कडेलले उद्घाटन गर्नुहुँदै धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्व बोकेको यस पर्वले सम्पूर्ण महिला दिदीबहिनीहरूमा खुशी र उमङ्ग ल्याओस् भन्ने शुभेच्छा प्रकट गर्नुभयो।

शिक्षिका लक्ष्मी तिवारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा निर्णायक मण्डलमा शिक्षक रामकुमारी तिवारी, निर्मला ढकाल र सुस्मिता बास्तोला रहनुभएको थियो। महिला शिक्षकहरूको समेत उत्कृष्ट नृत्य प्रस्तुति रहेको उक्त कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागीता रहेको कार्यक्रमका संयोजक पूर्णभद्र सुवेदीले जानकारी दिनुभयो।