गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या आठ सय बढी पुग्यो

गण्डकी प्रदेशमा पछिल्लो समयमा डेङ्गु तिब्र स्तरमा फैलिएको छ।प्रदेशमा गत पुसयता डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ । पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी कास्कीमा चार सय ४१, तनहुँमा एक सय २०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर चार र मुस्ताङमा जम्मा एक जनामा डेङ्गु रोग देखिएको हो।मनीङ भने देखिएको छैन।

प्रदेशभरमा पुष्टि भएका सङ्क्रमितमध्ये आधा बढी बिरामी कास्कीको पोखरा महानगरपालिकाका हुन् । पोखरामा हालसम्म चार सय ३२ जनामा उक्त रोग लागेको पुष्टि भएको हो । पछिल्लो तीन सातामा पोखरामा एक सय २९ जना डेङ्गी सङ्क्रमणका बिरामी थपिएका थिए ।

साउनदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमण बढ्ने जोखिम उच्च रहने भएकाले आगामी दिनमा सङ्क्रणको दर बढ्दै जाने अनुमान छ । डेङ्गु न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित निकायले सक्रियता बढाएका छन् ।

डेङ्गु फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस