वडा नं. ३२ को राधाकृष्ण मन्दिर पछाडी र सेती नदीको बिचमा महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आईरहेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका क्रममा नजिकैं बाच्छेबुढुवामा भएको ल्याण्डफिल्ड साईटमा फोहोर व्यवस्थापन गर्न नमिलेपछि वडा नं. ३२ का स्थानीयले अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्न सहमति दिएका थिए ।
विमानस्थल उद्घाटन नजिकै फोहर व्यवस्थापनको विषय जटिल बन्दै गईरहेको अवस्थामा ६ महिनाको लागि भनेर सम्झौंता गरिएको स्थानीय भुवानी प्रसाद पौडेलले बताए । उनले भने–‘जटिल अवस्थामा हामीले महानगरपालिकालाई साथ दिएका हौं । तर सम्झौंता अनुसार नगरपालिकाले काम गरेन । त्यसकारण बाध्य भएर १५ दिनको अल्टिमेटम दिनु परेको हो ।’
महानगरपालिका र वडावासी बिच दैनिक रुपमा त्यहाँ लगिने फोहोरलाई माटोले पुर्ने सहमति भएको थियो । अस्थायी रुपमा फोहोर मैला व्यवस्थापन गर्न सहमत भएका वडावासी यतिबेला नगरपालिकाले भने झैं फोहोर माटोले पुर्ने काम नगरेपछि विरोधमा उत्रिएका हुन् ।
फोहोर लगेर जथाभावी फाल्दिने, फोहोरलाई माटोले नपुर्ने गरिएपछि वरपरको वातावरण र पर्यावरणमा समेत यसले असर पारेको स्थानीयले गुनासो गरेका छन् । स्थानीय मेघराज पौडेल, खेमबहादुर पुन, शरण कुमार प्रधान र कुलमणि खनाल लगायतले मेयर आचार्यलाई दिएको पत्रमा वरपरको वस्तीमा दुर्गन्ध फैलिएको र भाइरल ज्वरोको प्रकोप समेत बढेको उल्लेख छ ।
मेयर आचार्यलाई बुझाईएको पत्रमा भनिएको छ, ‘६ महिनाको लागि फोहर मैला व्यवस्थापन भनेकोमा अब कहिलेसम्म ?, वातावरण पर्यावरण सम्बन्धि परिक्षण गरे नगरेको ?, जनतालाई यो दुर्गन्ध कहिलेसम्म ?, आम जनताको स्वास्थ्य माथि हेलचक्र्याई कहिलेसम्म ?, पवित्र गंगा नदीमा फोहरको रसायन कहिलेसम्म ? र धार्मिक स्थल वरपरि गिद्ध घुम्ने कहिलेसम्म ? भनेर प्रश्न गरिएको छ ।’
स्थानीय भुवानी प्रसाद पौडेलले पत्र मेयर आचार्यलाई बुझाएपछि स्थानीयहरुले आफूलाई परेको मर्काका विषयमा जानकारी गराएका थिए । सोही क्रममा मेयर आचार्यले भने–‘तपाईहरुले जे लेख्नुभएको छ, त्यो अक्षरस लागू हुनुपर्छ । त्यो लागू भएन भने तपाईहरुले १५ दिनपछि रोक्छु भन्नुभएको छ, रोक्नुहोला ।’
‘फोहर मैला व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान गरेकोमा अब छनौंटको क्रममा रहेको र छिट्टैं नै यो विषय टुङ्गिनेछ,’ मेयर आचार्यले भने–‘कति समय लाग्छ भनेर हामीले एक डेढ महिनापछि मात्र भन्न सक्छौं ।’