पार्टी एकता र यसको महत्व

गगन परियार –
आजको विश्व र नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको छ । वास्तविक क्रान्तिकारीहरू आफ्नो अस्तित्वको लडाइँ लड्नु परिरहेको छ । २० औँ शताब्दीमा महान् क्रान्ति भएका देशहरूमा पनि पुँजीवादी अर्थनीतिको बाटो समाती प्रतिक्रान्ति भई सामाजिक साम्राज्यवादमा परिणत भएका छन् । नेपालको कम्युनिस्ट पार्टी स्थापना भएको पनि सात दशक पार गरिसकेको अवस्थामा जनताको राज्यसत्ता र व्यवस्था नयाँ जनवाद/वैज्ञानिक समाजवाद स्थापना गर्न सकिएको छैन जसकारण नेपाली जनता अझै पनि शोषण र उत्पीडनको जुवामा जोतिनु परिरहेको छ । यस्तो विषम परिस्थितिमा दलाल पुँजीवादी संसदीय मार्गबाट नेपाल र नेपाली जनताको मुक्ति, स्वाधीनता, शान्ति र समृद्धिको गन्तव्य संविधानको कागजमा मात्र सीमित भएको हुँदा यसलाई व्यावहारिक प्रयोगमा रूपान्तरण गर्ने कार्य जनवादी, समाजवादी क्रान्तिले मात्र गर्दछ । यसरी नेपालको क्रान्तिलाई केन्द्रमा राखी वस्तुगत र आत्मगत अवस्थाको आवश्यकतालाई बोध गर्दै २०८० साल वैशाख १८ गते नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच मालेमावादलाई नै मार्गनिर्देशक सिद्धान्त मान्दै पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल (Revolutionary Communist Party of Nepal) को स्थापना भई नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ ऐतिहासिक क्रान्तिकारी उपलब्धि भएको छ । यसले नेपाली जनता, वाम बुद्धिजीवी, पार्टीका नेता–कार्यकर्ता, शुभचिन्तक र नयाँ युवा पुस्तालाई क्रान्तिप्रति आकर्षित गरी आशावादी बनाएको छ । अर्कोतिर संसदीय संशोधनवादी, सुधारवादी, क्रान्तिकारी स्वच्छन्दतावादी, परम्परागत जडसूत्रवादीहरूलाई निरास बनाई छट्पटिएको अवस्थामा देखिन्छ । यद्यपि पार्टी एकतापछि विभिन्न तह र तप्कामा सकारात्मक–नकारात्मक बहस–छलफल, चर्चा–परिचर्चा हुनु स्वाभाविक नै हो ।
हामी माक्र्सवादीहरूले हरेक वस्तु तथा घटनाक्रमलाई अध्ययन, अनुसन्धान गर्दा द्वन्द्ववाद र भौतिकवादको स्थितिलाई ध्यानमा राख्ने हो भने पार्टी एकताभित्र पनि सकारात्मक, नकारात्मक, सही र गलत दुवै विपरीत तत्वहरूबीच भएको एकता र सङ्घर्षको रूप र सारलाई भेट्न सकिन्छ । विपरीत तत्वबीचको एकता र सङ्घर्षले गर्दा नै वस्तु जीवित र गतिशील हुन सम्भव भएको हो । मानव शरीरमा हेर्ने हो भने त्यहाँ स्वास्थ्य र रोग गरी दुई विपरीत तत्व हुन्छन् । कम्युनिस्ट पार्टीभित्र पनि सुधारवाद, संशोधनवाद गरी मुख्यतया क्रान्तिविरोधी र क्रान्तिकारी गरी मूलभूत रूपमा दुई विपरीत तत्व हुन्छन् । तर एकता र सङ्घर्षका क्रममा सकार र नकारमध्ये हाबी हुने पक्षले वस्तुको अस्तित्वको निर्धारण गर्दछ । जस्तै, मानव शरीरमा रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमताको अभाव भएको खण्डमा त्यहाँ नकार हाबी हुन्छ जसले गर्दा शरीर रोगी हुन्छ । त्यस्तै कम्युनिस्ट पार्टीभित्र गैरक्रान्तिकारीमध्ये क्रान्तिकारी हाबी भयो भने त्यो पार्टी वास्तविक कम्युनिस्ट पार्टी बन्दछ । त्यो अवस्थामा त्यहाँ सकार हाबी भयो भन्ने बुभ्mनु पर्दछ । हाम्रो एकताका सन्दर्भमा लिएर हेर्ने हो भने हामीले उग्र क्रान्तिकारी दुस्साहसवाद, क्रान्तिकारी स्वच्छन्दतावाद र जडसूत्रवादलाई एक हदसम्म जितेका छौँ जसले गर्दा पार्टी एकतामा पनि सकार पक्ष हाबी भएको छ । यसकारण हामीले पार्टीभित्र र बाहिर रहेका सम्पूर्ण गैरमाक्र्सवादी तत्वहरूलाई परास्त गर्दै मालेमावादलाई नेपाली समाजसँग जोडी वैज्ञानिक, वस्तुवादी विश्लेषण गर्दै क्रान्तिकारी कार्यदिशा, कार्यनीति, कार्यक्रम बनाई अबको ८० को दशकलाई क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र समाज रूपान्तरणको दशक बनाउने लक्ष्य र उद्देश्य राख्नुपर्छ । यो कोणबाट यो एकताको ऐतिहासिक महत्व रहेको छ ।
हाम्रो यो एकताको महत्वपूर्ण र ऐतिहासिक उपलब्धिलाई क्रान्तिकारी सिद्धान्त, क्रान्तिकारी पार्टी, गतिशील सङ्गठन र क्रान्तिकारी संस्कारमा रूपान्तरण गरी जनताको सत्ता र व्यवस्था स्थापना गर्न हामीले गम्भीर प्रकारका समस्या र चुनौतीहरूको सामना गर्नुपर्ने छ । दलाल तथा नोकरशाही पुँजीपति वर्गलाई पक्षपोषण गर्ने ती गैरमाक्र्सवादी, क्रान्तिविरोधी समस्या र चुनौतीहरू मूलभूत रूपमा निम्न रहेका छन् :
क) सैद्धान्तिक प्रश्न 
हाम्रो क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले मार्क्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्त मानी यसलाई आत्मसात गरेको छ । तर हामी क्रान्तिकारी कम्युनिस्टहरूलाई २१ औँ शताब्दीमा माक्र्सवादी दर्शन र सिद्धान्तले प्रश्न गरिरहेको छ– २० औँ शताब्दीमा भएका जस्ता ती महान् क्रान्तिहरू अहिले किन सफल हुन सकिरहेका छैनन् ? यो शताब्दीमा विचार र सिद्धान्तको विकास किन हुन सकिरहेको छैन ? २१ औँ शताब्दीमा क्रान्तिको नेतृत्व गर्ने माक्र्सवादी दर्शन किन बन्न सकिरहेको छैन ? समाजवादी देशहरू पनि पुँजीवादी अर्थनीति अपनाई किन सामाजिक साम्राज्यवादमा परिणत भइरहेका छन् ? माक्र्सवादी दर्शनमा किन जडसूत्रवाद, सुधारवाद, संशोधनवाद हाबी भइरहेको छ ? यी प्रश्नहरूको समाधान र निकास हामीले दिनुपरेको छ । यसकारण हामीले मालेमावादलाई अन्ध नक्कल गर्दै नेपालको वस्तुगत यथार्थलाई पकडेनौँ भने, हामी समाज रूपान्तरण नगरी माक्र्सवादी व्याख्याता भई जडसूत्रवादमा फस्न पुग्यौँ भने नयाँ र विकास गर्ने नाममा माक्र्सवादको आधारभूत सिद्धान्तलाई बेवास्ता गर्न पुग्यौँ भने हामी उग्र क्रान्तिकारी, दुस्साहसवाद, क्रान्तिकारी स्वच्छन्दतावाद, सुधारवाद हुँदै अन्ततः पुँजीवादमा पतन हुन पुग्छौँ । क्रान्तिका लागि यी दुवै कुरा अवैज्ञानिक भएको हुँदा यसले यी प्रश्नको उत्तर र निकास दिन सक्दैन । त्यसकारण आजको परिस्थितिमा हामीले मालेमावादलाई सिर्जनशील तरिकाबाट नेपाली समाजसँग जोड्ने र नेपालको वस्तुगत अवस्थाको वैज्ञानिक र वस्तुवादी विश्लेषण गर्दै राजनीतिक र सैन्य कार्यदिशा, कार्यनीति, कार्यक्रम बनाएर यी प्रश्नको उत्तर दिने र निर्णायक क्रान्तिका लागि नेपाल र नेपाली जनतालाई निकास दिने चुनौती हामी र हाम्रो पार्टीलाई रहेको छ ।
ख) कम्युनिस्ट पार्टी निर्माणको प्रश्न 
माक्र्सवादी सिद्धान्त र विचारसहितको शोषित र उत्पीडित वर्गको मुक्तिको अग्रदस्ता रहेको पार्टी कम्युनिस्ट पार्टी हो । क्रान्तिकारी सिद्धान्त, विचारलाई व्यवहारमा मूर्तीकृत गर्ने काम पार्टी सङ्गठनले गर्ने गर्दछ । त्यसकारण क्रान्तिकारी सिद्धान्तलाई निर्णायक क्रान्तिमा परिणत गर्न अनिवार्य क्रान्तिकारी पार्टी बनाउनुपर्दछ । कम्युनिस्ट पार्टीहरू आत्मगत अवस्थालाई विशेष ख्याल गर्दै वर्गसङ्घर्षको विकासको स्थितिअनुसार साङ्गठनिक संरचनाको पनि विकास गर्दै जानुपर्दछ । हामीले अब लेनिनको सङ्गठनात्मक पद्धतिले मात्र अबको २१ औँ शताब्दीमा निर्णायक क्रान्ति गर्न सकिन्छ कि यसमा थप विकास गर्नुपर्दछ ? गर्नुपर्दछ भने के–के गर्ने ?, गर्नु पर्दैन भने किन नगर्ने ? यसको जबाफ पनि हाम्रो पार्टीले दिनुपर्दछ । त्यसकारण अब हामीले २१ औँ शताब्दीमा निर्णायक क्रान्ति गर्न कस्तोखालको पार्टी सङ्गठन बनाउनुपर्दछ । यसको वैज्ञानिक निकाससहित वर्गसङ्घर्षमा होमिन र सफल हुन हाम्रो अगाडि चुनौती खडा भएको छ ।
ग) क्रान्तिकारी कम्युनिस्ट संस्कार निर्माणको प्रश्न 
क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पार्टीलाई सर्वहारा वर्गको पक्षधरतामा सधैँ इमानदार र अटल राख्न हामीले क्रान्तिकारी संस्कारमा रूपान्तरण गर्न अनिवार्य पर्दछ । क्रान्तिकारी सिद्धान्त, क्रान्तिकारी पार्टी र क्रान्तिकारी संस्कारको एकताको बलमा नै हामी वर्गसङ्घर्षमा सफल हुन सम्भव हुन्छ । विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता क. माओ त्सेतुङले चीनमा नयाँ जनवादी क्रान्तिपछि सन् १९६६ देखि सन् १९७६ सम्म महान् सर्वहारा सांस्कृतिक क्रान्तिको अभियान सञ्चालन गर्नुभयो । क्रान्ति सम्पन्न भएर बुर्जुवा वर्ग सत्ताच्यूत रहे पनि शोषक वर्गको अझै आफ्ना पुराना विचार, संस्कृति, रीतिरिवाज र पश्चगामी सिद्धान्तलाई यथावत् नै राखी आफ्नो पुरानो सत्तालाई पुनः ब्युँत्याउने सम्भावना रहेको र आन्तरिक पार्टीभित्र पनि पुँजीवादी बाटो समातिरहेका तत्वहरू पनि घुस्न सफल भएपछि पुराना सत्ताच्यूत शोषक वर्ग र पार्टीभित्रका सुधारवादी र संशोधनवादलाई चिर्नु र परास्त गर्नु महान् सर्वहारा सांस्कृतिक क्रान्तिको महान् उद्देश्य थियो । चीनका क. माओले क्रान्ति सम्पन्न गरेपछि सर्वहारा सांस्कृतिक क्रान्ति चलाउनुभयो भने आजको परिस्थितिमा नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेको सङ्घर्ष–सम्झौता–विचलन, सुधारवाद, संशोधनवाद, आत्मकेन्द्रित व्यक्तिवाद, अर्थवाद, अवसरवाद, पुराना चिन्तन व्यवहार र कार्यशैलीको कारणले गर्दा नेपालमा हामीले आफ्नो वर्गप्रति इमानदार भई क्रान्तिमा समर्पित हुन क्रान्तिको प्रारम्भिक चरणबाटै सर्वहारा सांस्कृतिक क्रान्ति जोड्न सक्यौ भने मात्र वर्गसङ्घर्षमा सफल भई निर्णायक क्रान्ति गर्न सकिन्छ । त्यसकारण अब क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पार्टीलाई सर्वहारा वर्गको पक्षधरता सधैँ अटल राखिरहनका निम्ति आपूmले आपूmलाई क्रान्तिकारी संस्कारमा रूपान्तरण गर्ने गम्भीर प्रकारको चुनौती हामीसामु रहेको छ । यो चुनौतीलाई चिर्न सक्यौ भने मात्र हामी आत्मसङ्घर्ष, अन्तरसङ्घर्ष र वर्गसङ्घर्षको कठिन यात्रामा सफल हुन पुग्छौँँ ।
निष्कर्ष
आजको सन्दर्भमा नेपालमा संसदीय घेराभित्र रहेको नेकपा माओवादी केन्द्र सत्तामा दाइ काङ्ग्रेसलगायत विदेशी साम्राज्यवादका दलालको भूमिकामा रहेको राष्ट्रविरोधी र जनविरोधी पार्टीहरूसँग गठबन्धन गरी पुष्पकमल दाहाल नेतृत्वको कमाउनिस्ट सरकारले सत्ताको बागडोर समालिरहेको छो भने संसद्को प्रमुख प्रतिपक्षको भूमिकामा केपी ओली नेतृत्वको नेकपा (एमाले) नै रही कम्युनिस्टका नाममा जात्रा देखाई लुटिरहेका छन् । यसरी संसदीय प्रतिस्पर्धालाई स्वीकार गरेका कम्युनिस्ट पार्टीहरू रूपमा कम्युनिस्ट पार्टी रहे पनि सारमा वर्गसमन्वयकारी पुँजीवादी बाटो अपनाएका साम्राज्यवादका दलाल रही जनतामा भ्रम छरिरहेका छन् भने संसदीय घेराभन्दा बाहिर रहेका कम्युनिस्ट पार्टी पनि जडसूत्रवाद, उग्र क्रान्तिकारी भड्काव, क्रान्तिकारी रोमान्टिसिज्म (स्वच्छन्दतावाद) को दलदलमा फसी देश र जनतालाई निकास दिन नसकिरहेको अवस्था छ । यसरी सत्ता र सडकमा रहेका माक्र्सवादी दर्शनको व्यापार गरी जनतालाई समाजवादका नाममा दोकान खोली भ्रममा पारिरहेको अवस्थामा हामी क्रान्तिकारी कम्युनिस्टहरूका लागि जटिल र प्रतिकूल समयमा गैरमाक्र्सवादी तत्वहरूलाई एक हदसम्म चिर्न सफल भई नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच भएको पार्टी एकताले क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको स्थापना भएको छ । यसले नेपालको कम्युनिस्ट आन्दोलनमा एक ऐतिहासिक क्रान्तिकारी उपलब्धि गरेको छ । नेपालको कम्युनिस्ट आन्दोलन टुटफुट, विभाजनबाट ग्रसित भइरहेको अवस्थामा हाम्रो यो एकताले एउटा नयाँ जोस र उत्साह पैदा गरेको छ । यद्यपि कतिपय अवस्थामा पार्टी एकताबाट क्रान्तिको गतिमा तीव्रता आउँछ भने त्यसको ठीक उल्टो गतिमा अवरोध पनि आउन सक्छ वा यसो भनौँ कतिपय एकता क्रान्तितर्फ अगाडि बढ्छ भने कतिपय एकता प्रतिक्रान्तिको उल्टो बाटोमा पनि हिँड्न पुगी दुस्साहस पनि गर्न पुग्दछ । त्यसकारण हाम्रो एकतामा सकार र नकार दुवै पक्ष रहेका छन् । अहिले र सदैव सङ्घर्ष गरिरहनुपर्ने नयाँ विचार, कार्यक्रम, योजनालाई निषेध गर्ने जडसूत्रवाद र नयाँ गर्ने नाममा माक्र्सवादको आधारभूत सिद्धान्तलाई छोड्न पुगी सुधारवाद, उग्र क्रान्तिकारी भड्काव र क्रान्तिकारी स्वच्छन्दतावादको दलदलमा डुब्ने दुवै क्रान्तिको यात्रामा अति हुने दुस्साहसवादी विचारहरू एकतापछि बनेको हाम्रो नयाँ पार्टीमा पनि बाँकी रहेका छन् । यसलाई चिरेर वस्तुवादी र वैज्ञानिक राजनीतिक र सैन्य कार्यदिशा, कार्यनीति, कार्यक्रम बनाएर अगाडि बढ्ने चुनौती हाम्रो अगाडि रहेको छ । त्यसकारण हाम्रो एकताले क्रान्तिको यात्रामा नकार पक्षलाई परास्त गर्दै मालेमावादलाई रचनात्मक र सिर्जनात्मक प्रयोग गरी पार्टी सङ्गठनलाई गतिशीलतामा पुर्याई निर्णायक क्रान्ति गर्ने सुनौलो अवसर हाम्रासामु रहेको छ ।
प्रतिक्रिया दिनुहोस