पुनर्गठित नेकपा (बहुमत) मेची–कोसी–सगरमाथा ब्युरोको प्रशिक्षण सम्पन्न भएको छ । इटहरी, कलङ्कीचोकस्थित गङ्गाजमुना होटेलमा सोमबार सम्पन्न ब्युरोको राजनीतिक वैचारिक प्रशिक्षणमा प्रमुख अतिथि पार्टी संयोजक कञ्चन थिए । नेकपा (बहुमत) केन्द्रीय कार्यालय सदस्य एवम् पूर्वी ब्युरोका इन्चार्ज निर्मलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कञ्चन र पार्टी केन्द्रीय कार्यालय सचिव गुणराजले प्रशिक्षण दिएका थिए ।
पूर्वी ब्युरोभरिका पार्टी जिल्ला सदस्यहरूलाई प्रशिक्षण दिँदै प्रमुख अतिथि कञ्चनले विप्लव प्रचण्डको पार्टीमा र प्रकाण्ड एमालेमा पार्टी विलय गराउने षड्यन्त्रमा लागेकाले उनीहरुलाई कारबाही गरी पार्टी पुनर्गठन गर्नुपरेको बताए । उनले भने, ‘विप्लवसँगको छलफल हिउँदमा लागेको हुस्सुमा गाईबस्तु हराएको जस्तो हुन्थ्यो । एकीकृत जनक्रान्तिको कार्यदिशालाई स्पष्ट पार्नुपर्छ भन्दा कार्यदिशा विकास गर्ने र समृद्ध गर्ने त कता हो कता, झनै घालमेल गर्ने काम भयो ।’
पार्टी संयोजक कञ्चनले प्रशिक्षणका क्रममा भने, ‘विप्लवले हाम्रा कार्यकर्ता भनेका टमटम लगाएका घोडाजस्ता हुन् । उनीहरूले चुनाव बहिष्कार मात्रै गरेका छन् तर हामी ५ जनाले बोल्यौँ भने उनीहरू फर्किएर चुनावमा जान्छन् भनेर कार्यकर्ताको अवमूल्यन गरेका थिए । कुनै यस्तो देश छैन जहाँका कम्युनिस्ट पार्टीले लेनिनले चुनावमा भाग लिएका थिए भन्दै भाग नलिएको होस् । तर उनीहरू संसद्वादबाट मुक्त हुन सकेका छैनन् । त्यसैको सिको गरेर चुनावमा जाने कुरा विप्लव र प्रकाण्डले ल्याए । सचिवालयको बैठकबाट नै उनीहरूले पार्टी दर्ता गरेर जाने, केन्द्रीय समितिको बैठक नराख्ने निर्णय गरेका थिए तर हामीले केन्द्रीय समितिको बैठक बोलाउन दबाब दियौँ ।’
संयोजक कञ्चनले अगाडि भने, ‘केन्द्रीय समितिको बैठकमा उनीहरूको पहिलो पराजय माथिबाट बोल्न हलले दबाब दियो । दीर्घ पाण्डेले विप्लवबाट चुनावमा जाने प्रस्ताव आउँछ भन्ने कल्पनासमेत गर्न सकिँदैनथ्यो भनेका थिए । अहिले उनी विप्लवतिरै छन् । चुनावमा जानु हुन्छ कि हुँदैन भन्ने कुरामा नोट अफ डिसेन्ट लेख्नु गलत हुन्थ्यो । त्यहाँ ठाउँको ठाउँ पार्टीबाट विद्रोह गर्नुपर्छ भनेका थियौँ । प्रकाण्डको राजनीतिक दाउपेच सिङ्गो पार्टीलाई एमालेमा विलय गराउने र विप्लवको दाउपेच प्रचण्डको पार्टीमा विलय गराउने रहेछ ।
एमसीसीको विरोधीलाई उठाएर केजरीवालको जस्तो पार्टी बनाउने रहेछ । अन्त्यमा केन्द्रीय समितिको बैठकले चुनावमा नजाने निर्णय गरेपछि उनीहरूको अवस्था मनगढन्ते सपनाका तानाबाना बुन्दाबुन्दै लात्तले हान्दा सातु राखेको घैँटो नै फुटेको सोमप्रसादको कथाजस्तो दुःखान्त र वियोगान्त भयो ।’
संयोजक कञ्चनले अगाडि भने, ‘विप्लव र प्रकाण्ड केन्द्रीय समितिको निर्णयविपरीत जान थालेपछि हामीले तपाईंहरू दुवैजनालाई कारबाही गर्नुपर्छ भनेका थियौँ । तपाईंहरू पार्टी निर्णय उल्लङ्घन गर्ने अराजक नेता हो भनेका थियौँ तर विप्लव सच्चिने कुनै गुञ्जायस देखिएन किनभने विप्लवले महासचिवबाट राजीनामा दिने कुरा सपनामा पनि नदेखे हुन्छ भने । विप्लवले अमर झाँक्रीलाई सूर्य चिह्न लिएर चुनावमा उठ्न भनेका थिए । तर अमर झाँक्रीको मतदाता नामावलीमा नाम नै नभएकाले दर्ता गर्नै पाएनन् । बहस गर्ने भनेको तिक्तता बढाउनु हो । त्यसैले तपाईंहरू जानुस् भनेर विप्लवले भने । त्यसपछि विप्लवले मलाई र सुदर्शनलाई पदबाट मुक्त गरेको वक्तव्य निकाले । त्यसपछि बाध्य भएर हामीले राष्ट्रिय भेला बोलाएका हौँ ।’
संयोजक कञ्चनले प्रशिक्षणका क्रममा भने, ‘कल्पनाहरूलाई वास्तविकतामा बदल्न सकिएन भने त्यसले वियोग निम्त्याउँछ । त्यस्तै विप्लवको कल्पना वा रोमान्सवाद वियोगमा बदलिएको छ । विप्लवमा वियोगान्त रुमानीवाद देखापर्यो । नेपालमा क्रान्तिका लागि कार्यदिशाको समस्या परेको थिएन । माओले प्रतिपादन गरेको नयाँ जनवादी क्रान्तिको कार्यदिशा नै नेपालको जनयुद्धको कार्यदिशामा काम लाग्यो । त्यसैले नेपालमा १० बर्से जनयुद्ध गरेको थियो । जनयुद्ध गर्दै जाँदा नयाँ जनवादी क्रान्तिको कार्यदिशाको कार्यभार पूरा भएको थियो । त्यसपछि नयाँ कार्यदिशाको आवश्यकता परेको थियो । त्यो हामीले तयार पारेका छौँ । कार्यक्रम वैज्ञानिक समाजवाद, कार्यदिशा समाजवादी क्रान्ति, कार्यनीति स्वाधीन संयुक्त सरकार, कार्यनीतिक कार्यक्रमहरू संसदीय व्यवस्थाको अन्त्य, स्थिरता, समृद्धि, शान्ति, रूपान्तरण र स्वाधीनता हो । वर्तमान पराधीन सत्ताको अन्त्य गरेर स्वाधीन संयुक्त सरकार गठन गर्न आवश्यक छ । त्यसका लागि संसदीय व्यवस्थाको अन्त्य हुनुपर्छ । नेपालमा माननीय, मन्त्री, प्रधानमन्त्री, न्यायाधीश, प्रधानन्यायाधीश पैसा कमाउनका लागि हुन्छन् । त्यसैले यो प्रणालीको अन्त्य हुनुपर्छ । विप्लवमा देखापरेको समस्या क्रान्तिमा देखिने लुर्कनहरूको पराजय हो ।’
पार्टी केन्द्रीय कार्यालय सचिव गुणराजले प्रशिक्षण दिँदै भने, ‘विप्लवजी बर्नस्टिनको पछिल्लो संस्करण मात्र हो, नयाँ संशोधनवादी होइन । उनी संसद्वादी संशोधनवादी हो । उनीहरूमा रहेको संशोधनवादको मुखुन्डोलाई गएको संसदीय स्थानीय चुनावले च्यातिदिएको मात्र हो । जुझारु अर्थवादका कारण उनी रूपमा क्रान्तिकारीजस्तो देखिएका थिए तर दुई वर्षको प्रतिबन्धले लखतरान भएपछि ३ बुँदे गरे । सम्झौता हुँदा लिनेदिने हुन्छ तर उनीहरूले बन्दीलाई छाड्ने र मुद्दा खारेज गर्ने सहमति नै नगरी ३ बुँदे गरे । त्यसैको परिणाम साथीहरू अझ पनि जेलमा छन् । सयौँलाई मुद्दा लगाइएको छ ।’