सङ्खुवासभामा बस दुर्घटना : १४ जनाको मृत्यु, पाँच घाइते

सङ्खुवासभा : सङ्खुवासभाको मादी नगरपालिका–६ मा भएको ना ४ ख ७३५ नम्बरको ‘रेशम फिलिलि’ यात्रुबाहक बस दुर्घटनामा परी सवारी चालकसहित १४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा, ५५ वर्षीय भवानीप्रसाद दाहाल, मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, मादी नगरपालिका–६ घर भएकी ३० वर्षीया सीता बिक, ३८ वर्षीय आइतबहादुर तामाङ, वडा नम्बर–४ बस्ने ६० वर्षीय बलबहादुर कार्की, ३५ वर्षीया सविता राउत कार्की, मादी– ६ की अञ्जना कटुवाल, मादी– ५ की दीक्षा कटुवाल, ताप्लेजुङ घर भएकी बर्ष ३१ की समीक्षा योञ्जन र उनको छोरा ८ वर्षीय सुदिप घिसिङ रहेका छन् ।

यस्तै बस दुर्घटनामा परेको पाँच जनाको जीवितै उद्धार गरिएको छ । घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की रहेका छन् । दुर्घटनामा घाइते भएका पाँच जनाकै नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ लैजाने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । यात्रुबाहक बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको थियो । तीव्रगतिका कारण बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको ईलाका प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस