अदालतको आदेश लत्याउदै माइला लामालाई रिहा भए लगत्तै प्रहरीद्वारा पुनः गिरफ्तार

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका इञ्चार्ज माइला लामालाई रिहा भए लगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

उच्च अदालत पाटनको आदेशमा आइतवार रिहा भएका नेता लामालाई प्रहरीले अदालत परिसरबाटै पुन पक्राउ गरेको हो ।
थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालतले माघ १६ गते लामासँगै नेकपा अर्का केन्द्रीय सदस्य नविन विश्वकर्मा, अनेमसंघ(क्रान्तिकारी)की केन्द्रीय महासचिव धिरिन्द्रा उपाध्याय र इश्वर परियारलाई रिहा गर्न आदेश दिएको थियो । तर अदालत परिसरबाटै उनीहरूलाई प्रहरीले गिरफ्तार गरेको हो ।

ललितपुर जिल्ला अदालतले ललितपुरमा रहेको एनसेलको केन्द्रीय कार्यालयमा बम विस्फोट गराएको घटनामा र राज्य विरुद्धको अपराधमा दोषी ठहर गर्दै पूर्वपक्षमा पठाउने फैसलालाई उच्च अदालतले बदर गर्दै नेताहरुलाई रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालत ललितपुरको आदेशविरुद्धको रिट निवेदन उच्च अदालतमा परेको थियो ।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार चारजनालाई निर्दोष ठहर गर्दै रिहाईको आदेश दिएको थियो ।

उनीहरुलाई विभिन्न समयमा प्रहरीले गिरफ्तार गरेर हिरासतमा लिएपछि ललितपुर जिल्ला अदालतले पूर्वपक्ष लागि भन्दै नख्खु कारागार चलान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस